सिंहदरबारमा सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, सत्ता समीकरण फेरिन्छ। तर सिंहदरबारबाहिरको जनताको जीवनमा कति परिवर्तन आयो ? आजको मूल प्रश्न यही हो।
आज एउटा परिवारलाई महिनाको तलबले घरखर्च धान्न गाह्रो छ। बजारमा खाद्यान्नदेखि लत्ताकपडासम्मको खर्च बढेको छ। छोराछोरीको विद्यालय शुल्क, घरभाडा, औषधि–उपचार र दैनिक यातायातको खर्च जोड्दा सामान्य आम्दानी गर्ने परिवारलाई महिनाको अन्त्य कुर्न पनि कठिन भइरहेको छ।
गाउँमा किसानले उत्पादनको उचित मूल्य पाउँदैन। मल र बीउको चिन्ता उस्तै छ। उत्पादन बजारमा पुग्दा बिचौलियाको समस्या छ, तर उपभोक्ताले त्यही वस्तु महँगोमा किन्नुपर्छ। युवाका लागि देशमै पर्याप्त रोजगारी छैन; त्यसैले घरको ऋण तिर्न र परिवारको भविष्य धान्न हजारौँ युवा विदेशिन बाध्य छन्। गाउँका घरमा बुढा आमाबुबा छन्, तर छोराछोरीको उपस्थिति मोबाइलको पर्दामा सीमित हुँदै गएको छ। शहरमा पनि अवस्था सहज छैन। सानो कोठाको भाडा, महँगो शिक्षा, उपचारको खर्च र अनिश्चित रोजगारीले मध्यम तथा निम्न आय भएका परिवारलाई निरन्तर दबाबमा राखेको छ। बिरामी पर्दा उपचारभन्दा पहिले ‘कति पैसा लाग्छ?’ भन्ने प्रश्न आउँछ। बेरोजगार युवाका लागि प्रमाणपत्रभन्दा अवसर ठूलो समस्या बनेको छ।
यही वास्तविकताको बीचमा राजनीतिक उपलब्धिको अर्थ खोज्नुपर्छ। संविधान, लोकतन्त्र र संस्थागत परिवर्तन महत्वपूर्ण उपलब्धि हुन्। तर ती उपलब्धिको अन्तिम मापदण्ड जनताको घरदैलोमा देखिनुपर्छ- चुलो सहज चलेको छ कि छैन, किसानले उत्पादनको मूल्य पाएको छ कि छैन, युवाले आफ्नै देशमा काम पाएको छ कि छैन, बिरामीले पैसाको अभावमा उपचार रोक्नुपरेको छ कि छैन।संकटको घडीमा नेतृत्वको परीक्षा पनि यहीँ हुन्छ। कुर्सी जोगाउनु मात्र नेतृत्व होइन; नागरिकको भरोसा जोगाउनु नेतृत्व हो। सुरक्षा दिनु भनेको केवल सडकमा सुरक्षा घेरा खडा गर्नु होइन; नागरिकले भोलिको दिन सुरक्षित देख्न सक्ने वातावरण बनाउनु पनि हो। नेपाली सेना जनताको भरोसाको संस्था हो। उसको भूमिका राजनीतिक प्रतिस्पर्धाभन्दा माथि, संविधान र नागरिक सुरक्षासँग जोडिएको हुनुपर्छ। संकटमा सेना राजनीतिक शक्ति बन्ने होइन, नागरिकको सुरक्षा र राज्यको संवैधानिक मर्यादाको रक्षक बन्ने हो। किनकि देश केवल सिंहदरबार होइन। देश त्यो किसान हो, जसको हातमा माटो छ; त्यो श्रमिक हो, जसको पसिनाले शहर चलेको छ; त्यो युवा हो, जो विमानस्थलबाट विदेशिँदैछ; त्यो आमा हो, जो छोराको खबर पर्खिरहेकी छिन्; र त्यो परिवार हो, जसले महिनाको अन्त्यमा खर्च कसरी धान्ने भनेर हिसाब गरिरहेको छ।
त्यसैले अब प्रश्न सत्ता कसको भन्ने मात्र होइन,जनताको जीवन कहिले सहज हुन्छ ?
सत्ता फेरिनु परिवर्तन हुन सक्छ, तर जनताको चुलो नबलेसम्म, युवाको हातमा रोजगारी नआएसम्म र किसानको पसिनाले उचित मूल्य नपाएसम्म परिवर्तनको कथा अधुरै रहन्छ।
