घट्ने क्रम रोकिएन: नेप्सेमा लगातार तेस्रो दिन गिरावट, बजार २५९८ को विन्दुमा!

१४ आश्विन २०८३, बुधबार १५:५७

नेपाली शेयर बजारमा असोज साताको तेस्रो कारोबार दिन पनि गिरावट आएको छ। लगातार घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार (असोज १४) थप ४.८२ अंक (०.१८ प्रतिशत) ले ओरालो लाग्दै २५९८ दशमलव ८९ विन्दुमा पुगेर बन्द भएको हो।

यसअघि साताको पहिलो दिन सोमबार १६.४७ अंक र मंगलबार ९.६२ अंकले घटेको नेप्सेले बुधबार पनि ओरालो यात्रा नै निरन्तर राखेको छ। लगातारको गिरावटले लगानीकर्ताहरूमा केही अन्योल र पर्ख र हेरको अवस्था सिर्जना गरेको छ।

कारोबार विवरण: ४ अर्ब ७६ करोडको सेयर किनबेच

बुधबार बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ। दिनभर कुल ३५२ वटा कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४७ हजार ९ सय पटक किनबेच हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २३ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कुल कारोबार भएका कम्पनीमध्ये १०९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

कस्ले कमाए, कस्ले गुमाए?

आजको कारोबारमा अधिकांश उपसमूह राताम्मे भए पनि तीन वटा उपसमूहमा भने सुधार देखिएको छ। हाइड्रोपावर, म्युचुअल फण्ड र ट्रेडिङ इन्डेक्स बाहेकका बाँकी सबै उपसमूहका सूचकहरू घटेका छन्।

  • बढी कमाउने कम्पनीहरू: आजको बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। त्यस्तै सयपत्री हाईड्रोपावर र घलेम्दी हाईड्रोपावर सर्वाधिक कमाउने कम्पनीको दोस्रो र तेस्रो स्थानमा रहे।

  • बढी गुमाउने कम्पनीहरू: आज सानीमा ग्रोथ फण्डका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन्। त्यसैगरी चिर्ख्वा हाईड्रोपावर र सोपान फार्मेस्युटिकल्स सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेका छन्।