हाकाली नदीमा आएको भीषण बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिका जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति पुगेको छ। नदीको बीच भागमा रहेको पिलर/स्ट्रक्चरमा बाढीले क्षति पुर्याएपछि पुलको भाग ढल्किएर तथा भाँचिएर आवतजावत ठप्प बनेको छ।
स्थानीय प्रशासनका अनुसार अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव उच्च भएपछि पुलको संरचनामा असर परेको हो। पुल क्षतिग्रस्त भएलगत्तै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको टोली पुगेर अनुगमन गरेको छ।
प्राविधिक टोली खटाइँदै, सर्वसाधारणलाई सतर्क रहन आग्रह
पुलमा भएको क्षतिको विस्तृत अध्ययन गरी मर्मत प्रक्रिया अघि बढाउन प्राविधिक टोली खटाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बाढीको जोखिम अझै कायमै रहेकाले सर्वसाधारणलाई पुलबाट वारपार नगर्न र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।
वि.सं. २०६१ सालमा निर्माण सम्पन्न भएको करिब १,४५३ मिटर लामो यो झोलुङ्गे पुल सुदूरपश्चिमको मुख्य पर्यटकीय आकर्षणका साथै स्थानीयको दैनिक आवतजावतको भरपर्दो आधार रहँदै आएको थियो। पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।
