नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा पार्टीभित्र गुटगत समीकरण फेरबदल सुरु भएको छ। यसै क्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ सभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
मंगलबार आयोजित एक कार्यक्रमका बीच देउवा पक्षीय महाधिवेशन तयारी समितिका संयोजक एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनाङेलाई खादा र माला लगाएर आफ्नो समूहमा स्वागत गरे।
देउवा समूहबाट मनाङको कमान्ड मनाङेकै हातमा
आगामी महाधिवेशनमा आफ्नो पक्षलाई थप बलियो बनाउने रणनीतिअनुसार देउवा समूहले मनाङेलाई प्रवेश गराउनासाथ ठूलो साङ्गठनिक जिम्मेवारी दिएको छ। डा. कोइरालाको सचिवालयका अनुसार १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा मनाङ जिल्लामा साङ्गठनिक पकड सुदृढ बनाउन मनाङेलाई देउवा समूहको मनाङ जिल्ला संयोजक तोकिएको हो।
मनाङको स्थानीय राजनीतिमा प्रभावशाली मानिने गुरुङको आगमनले सो क्षेत्रमा देउवा पक्षलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
महाधिवेशन नजिकिँदै गर्दा तातियो राजनीति
गण्डकी प्रदेश सरकारमा पटक-पटक मन्त्री भइसकेका मनाङेको यो कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। कांग्रेसको महाधिवेशनको मुखैमा विभिन्न राजनीतिक पृष्ठभूमि र प्रभाव भएका नेताहरू आ-आफ्नो समीकरण मिलाउन देउवा पक्ष र इतर पक्षमा बाँडिने क्रम बढेको छ।
मनाङेको इन्ट्रीले सभापति देउवा पक्षलाई हिमाली क्षेत्रमा कतिको फाइदा पुर्याउला र आगामी महाधिवेशनको शक्ति सन्तुलन कसरी फेरिएला भन्ने विषय राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ।
