एसपीलाई धम्की दिएपछि भन्सार अधिकृतको जिम्मेवारी खोसियो!

१० आश्विन २०८३, शनिबार १६:०७

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई धम्क्याएको अडिओ सार्वजनिक भएपछि कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल ३४ नं. गण कैलालीका गणपति (एसपी) खुमबहादुर केसीसँगको संवादको अडिओ भाइरल भएपछि भन्सार विभागले भट्टलाई तत्कालका लागि भन्सार अधिकृतको जिम्मेवारीबाट हटाएर विभागमा तानेको हो।

विभागले अडिओ प्रकरणका सम्बन्धमा थप बुझ्न र अनुसन्धान गर्नुपर्ने भन्दै भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको छ।

के थियो अडिओ प्रकरण ?

केही दिनअघि अधिकृत भट्ट र सशस्त्र प्रहरीका एसपी केसीबिच टेलिफोनमा भएको भनिएको संवादको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त अडिओमा भन्सार अधिकृत भट्टले गड्डाचौकी भन्सारबाट प्रक्रिया पूरा गरी पास भइसकेको गाडीलाई कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै एसपी केसीसँग आक्रोश व्यक्त गरेको सुनिन्छ। संवादका क्रममा भट्टले उक्त गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमै फिर्ता पठाउन निर्देशन दिएका छन्।

गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक (IGP) र भन्सार विभागका प्रमुखलाई फोन गरेर विषय गम्भीर बनाइदिने चेतावनीसमेत भट्टले दिएका थिए।

‘सुरक्षा निकायले व्यवसायीलाई दुःख दियो’

अडियोमा भन्सार अधिकृत भट्टले सशस्त्र प्रहरीले व्यवसायीहरूलाई अनावश्यक रूपमा दुःख दिन थालेको आरोप लगाएका छन्। भन्सारबाट वैधानिक रूपमा पास भइसकेको सामान नियन्त्रणमा लिएर ‘बहादुरी’ नदेखाउन चेतावनी दिँदै उनले सुरक्षा निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

विभागले सुरु गर्‍यो अनुसन्धान

सार्वजनिक भएको अडिओ संवाद र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा थप अनुसन्धान आवश्यक रहेको भन्दै भन्सार विभागले भट्टलाई विभागमा झिकाएको छ। विभागका अनुसार छानबिन प्रक्रिया अघि बढाउनका लागि उनलाई गड्डाचौकीको जिम्मेवारीबाट मुक्त गरी केन्द्रमा हाजिर हुन भनिएको हो।