राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गर्दा उनी भक्कानिइन्।
उनले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देशको सुधारका लागि संसद्मा आएको स्पष्ट पारिन्। सांसद खतिवडाले संसदको रोष्टमबाट बोल्दै आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीहरूको प्रतिवाद गरिन्।
उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको जिकिर गरिन्।
सम्बन्धित राजनीतिक दल र सरकारलाई लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रह गरिन्। खतिवडाले आफू न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने प्रतिवद्धता जनाइन्।
उनले भनिन्, ‘मेरो काख रितिएको छ, संसार उजडिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन। म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ।’
सरकारसँग माग राख्दै सांसद खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क उपचार र सहिद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न ध्यानाकर्षण गराइन्।
