संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै

६ आश्विन २०८३, मंगलवार ०८:२५

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (मंगलबार) अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीको नेतृत्व गर्दै न्युयोर्कतर्फ लाग्न लाग्नुभएको हो।

महासभाको तालिका अनुसार प्रधानमन्त्री शाहले आगामी असोज ८ गते राष्ट्रसंघलाई सम्बोधन गर्नुहुनेछ। महासभामा सहभागी हुनका लागि परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रारम्भिक टोली भने आइतबार नै न्युयोर्क पुगिसकेको छ।

जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराइने

यसपटकको महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई प्रमुखताका साथ उठाउनुहुनेछ। गत भदौ १० गते रसुवामा आएको भीषण बाढी र त्यसले पुर्याएको ठूलो जनधनको क्षतिलाई मुख्य उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले हिमाली तथा जोखिममा रहेका राष्ट्रहरूका लागि जलवायु न्यायको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने रणनीति बनाउनुभएको छ।