काठमाडौँको त्रिपुरेश्वरमा गुडिरहेको ऋद्धिसिद्धि यातायातको बसमा हिजो मध्यान्ह भएको अकस्मात आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको आज बिहान मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्।
हिजो दिउँसो बसमा अचानक आगो सल्किँदा चालक गाडीभित्रै फसेका थिए। उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार गरी तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए।
लाइसेन्स दुरुपयोगको आशंका, पहिचान झनै पेचिलो
दुर्घटनापछि चालकको वास्तविक पहिचानलाई लिएर भने अन्योल सिर्जना भएको छ। सुरुमा दुर्घटनास्थलमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले मृतक चालक ‘दावा लामा’ रहेको सार्वजनिक गरेको थियो। तर, वास्तविक लाइसेन्सधनी दावा लामाले आफू पूर्ण रूपमा सकुशल रहेको र उक्त लाइसेन्स आफ्नो भएको पुष्टि गरेपछि प्रहरी अनुसन्धान अर्कै मोडमा पुगेको छ।
मृतक चालकले अरू कसैको लाइसेन्स दुरुपयोग गरेर गाडी चलाइरहेको हुन सक्ने प्रहरीको आशंका छ। प्रवक्ता सुवेदीका अनुसार हाल मृतकको वास्तविक नाम, थर र ठेगाना खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
