सडक बिग्रिएको गुनासो अब मोबाइलबाटै, सरकारले ल्यायो ‘सडक सुझाव एप’

२ आश्विन २०८३, शुक्रबार ०७:५२

काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी र अस्तव्यस्त सडकबाट आजित हुनुहुन्छ? अब भने तपाईंको आवाज सिधै जिम्मेवार निकायसम्म पुग्ने भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले सडक मर्मतलाई चुस्त र पारदर्शी बनाउन ‘Sadak Sujhav’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

यस एपमार्फत नागरिकले काठमाडौँ जिल्लाभित्रका करिब ४७२ किलोमिटर सङ्घीय सडकमा देखिएका समस्याबारे सिधै रिपोर्ट गर्न सक्नेछन्। यदि तपाईंले रिपोर्ट गरेको सडक सङ्घीय सडकअन्तर्गत पर्दैन भने, उक्त सडक कुन निकाय (जस्तै: नगरपालिका वा प्रदेश) को जिम्मेवारीमा पर्छ भन्ने जानकारी पनि एपले नै दिनेछ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत जोडेर यो सेवा क्रमैसँग देशभर विस्तार गर्ने सरकारको योजना छ।

एप कसरी प्रयोग गर्ने ? (चरणबद्ध प्रक्रिया)
एप डाउनलोड र खाता : Play Store वा App Store बाट ‘Sadak Sujhav’ डाउनलोड गरी नाम, फोन नम्बर र पासवर्ड राखेर आफ्नो अकाउन्ट बनाउनुहोस्।

समस्याको फोटो : एप खोलेर ‘Report a problem’ मा थिच्नुहोस्। घटनास्थलको ताजा फोटो खिच्नुहोस् वा ग्यालरीबाट अपलोड गर्नुहोस्।

लोकेसन र समस्याको प्रकार : फोनको ‘Location Access’ अन गर्नुहोस्। त्यसपछि ‘Describe the Problem’ मा गई सडक भासिएको, खाल्डो परेको, फुटपाथ वा जेब्रा क्रसिङ बिग्रिएको जस्ता विकल्प छान्नुहोस्।

गम्भीरताको स्तर : सडकको अवस्था हेरी Minor (सामान्य), Major (मध्यम), वा Critical (जोखिमपूर्ण) मध्ये एक छनोट गर्नुहोस्। (नजिकैको ल्यान्डमार्क लेख्न सकिने ऐच्छिक सुविधा पनि छ।)

सब्मिट र रेफरेन्स नम्बर : विवरण जाँच गरी ‘Submit Report’ मा क्लिक गर्नुहोस्। रिपोर्ट सब्मिट भएपछि प्राप्त हुने ‘Reference Number’ सुरक्षित राख्नुहोस्।

तपाईंको गुनासो कहाँ पुग्यो ? एपमै हेर्नुहोस्
यो एपको सबैभन्दा ठूलो विशेषता भनेकै लाइभ ट्र्याकिङ हो। तपाईंको गुनासो दर्ता भएपछि सडक डिभिजनले सुरु गरेको सुधार प्रक्रिया, समस्या स्वीकृत वा अस्वीकृत भएको अवस्था, र काम सम्पन्न भएको विवरण एपकै ड्याशबोर्डमा प्रत्यक्ष ट्र्याक गर्न सकिन्छ। सडक मर्मत सकिएपछि त्यसको सूचना पनि एपमार्फत नै प्राप्त हुनेछ।