९ लाख घूससहित नापी अधिकृत डिल्लीबहादुर वली नियन्त्रणमा

१ आश्विन २०८३, बिहीबार १८:०८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपैयाँ घूससहित नापी अधिकृत डिल्लीबहादुर वलीलाई नियन्त्रणमा लिएको छ। वली नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन्।

छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु पठाउनका लागि सेवाग्राहीसँग अनावश्यक सास्ती दिँदै घूस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँको टोखा नगरपालिका-५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट घूसको रकमसहित रङ्गेहात पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

पक्राउ परेका वलीविरुद्ध घूस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा असोज १ गते विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।