भदौ १४ गते पहिरोका कारण सडक भासिएर अवरुद्ध बनेको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानैदेखि यातायात दुईतर्फी सञ्चालनमा ल्याइएको छ। भासिएको पुरानो सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक खोलिएपछि सवारी साधन आवतजावत पुनः सहज बनेको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बिहीबार बिहानैदेखि नयाँ ट्र्याकमा दुवैतर्फबाट गाडीहरू चल्न थालेका छन्। “बिहानैदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आइसकेको छ। अहिलेको अवस्थामा नयाँ ट्र्याकमा कुनै समस्या छैन,” उनले भनिन्।
सडक सञ्चालनमा आए पनि वर्षाको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आपतकालीन तयारी चुस्त पारिएको छ। सम्भावित अवरोधलाई तत्काल हटाइ सडक सुचारु राख्न प्राविधिक, आवश्यक मेसिनरी उपकरण र सुरक्षाकर्मीसहितको ‘डेडिकेटेड टिम’ २४ सै घण्टा खटाइएको प्रशासनले जनाएको छ।
“बाटो अहिले राम्रो र सुरक्षित छ। तैपनि सानोतिनो समस्या आइहालेमा तत्काल मर्मतसम्भार गर्न Dedicated Team तयारी अवस्थामा राखिएको छ,” प्रजिअ पाण्डेयले थपिन्।
मनसुनको जोखिम कायमै रहेकाले सो खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ।
