सिंहदरबारबाटै पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीका १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले राखेको छलफल बैठकमा सहभागी भई बाहिरिने क्रममा तामाङलाई हिजो सिंहदरबार परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तामाङको आपराधिक अभिलेख (सीआरएस) जाँच गर्दा बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा दर्ता रहेको भेटिएको हो।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई समातेको हो। प्रहरीले तामाङमाथि दर्ता भएका सबै १० वटै मुद्दामा कानुनबमोजिम थप अनुसन्धान अघि बढाउने जनाएको छ।

