सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा दुई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने र एउटा महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकका मुख्य कार्यसूची तथा संसदीय गतिविधिहरू यस प्रकार छन्:
मौखिक प्रश्नोत्तर: परराष्ट्र मन्त्रालयका साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन्।
संसदीय प्रस्ताव प्रस्तुत: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ।
विषयगत समितिका बैठकहरू: आजै संसद्अन्तर्गतका चारवटा महत्वपूर्ण समितिको बैठक पनि बस्दैछ। जसमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।
