हरितालिका तीजको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि महिला व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ। भदौरे झरीका बाबजुद पनि पशुपति क्षेत्रमा दर्शनार्थीहरू उत्साहका साथ लामबद्ध भएका छन्।
भक्तजनको सहजतालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरेको छ।
चारवटै ढोका खुला, आधा घण्टामै दर्शन
कोषका अनुसार दर्शनार्थीले लामबद्ध भएको आधा घण्टाभित्रै सहज रूपमा दर्शन गरी फर्कन सक्ने व्यवस्था मिलाइएको छ। भक्तजनको भिड व्यवस्थापनका लागि चारवटा छुट्टाछुट्टै दर्शन मार्ग तोकिएको छ:
मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति मार्ग: वासुकीनाथको उत्तर ढोका र र्याम्प हुँदै उत्तरतर्फबाट दर्शन गरी पश्चिम ढोकाबाट निस्कने।
जयवागेश्वरी मार्ग: दथुटोल, भुवानेश्वरी र नासलचोकको आकासे पुल हुँदै काठको र्याम्पबाट पश्चिमतर्फको दर्शन।
तिलगङ्गा/सिनामंगल मार्ग: राम मन्दिर र वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट पूर्व ढोकामा राखिएको र्याम्पमार्फत दर्शन।
पिङ्गलास्थान मार्ग: पञ्चदेवल, अस्थायी आकासे पुल र चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै दक्षिण मुहारको दर्शन गरी फर्कने।
सुरक्षा, स्वयंसेवा र चन्दन वितरण
तीज पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्रमा ४ हजार सुरक्षाकर्मी र २४ धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको छ।
साथै, दर्शनार्थीहरूका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालाबाट चन्दन वितरणको प्रबन्ध मिलाइएको छ।
देशभरका शिवालयमा भक्तजन
पशुपतिनाथका साथै उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ), डोलेश्वर र त्रिपुरेश्वर लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि पुजा-आजा गर्ने व्रतालुहरूको ठूलो घुइँचो लागेको छ।
