काठमाडौं महानगरपालिकाले आर्थिक रूपमा विपन्न, हिंसा पीडित तथा बेवारिसे नागरिकहरूका लागि २ लाख रुपैयाँसम्मको जलन (Burn) उपचार निःशुल्क उपलब्ध गराउने भएको छ।
यस सेवा प्रदान गर्नका लागि काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट) बीच औपचारिक सम्झौता भएको छ। महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसका आधारमा लक्षित बिरामीहरूले यो सुविधा पाउनेछन्।
उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ। जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ। उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च व्यहोरिनेछ। सोही कोषमा जम्मा गरिएको रकम, यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ।
सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पैसाकै अभावमा कसैले पनि जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो पहल गरिएको बताइन्। उनले भनिन्, “अस्पताल पुर्याएपछि बिरामी छाडेर पैसा खोज्न धाउनुपर्ने बाध्यता अन्त्य गर्न हामीले कोषको व्यवस्था गरेका हौँ।”
