टनेलमा फसेकाहरूको उद्धार आज पनि जारी, नेपाली सेनाको निरन्तर प्रयास

१६ भाद्र २०८३, मंगलवार १४:१७

गत भदौ १० गते आएको भीषण बाढीपहिराका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका टनेल (सुरङ) भित्र फसेका ९ सयभन्दा बढी कामदार तथा कर्मचारीको खोज तथा उद्धार कार्य आज पनि निरन्तर जारी छ।

अविरल वर्षा र पहिरापछि उत्पन्न विपद्को एक साता बितिसक्दासमेत मुख्य सुरङहरू बन्द हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। यद्यपि, नेपाली सेना, विदेशी उद्धार विज्ञ र अन्य सुरक्षा निकायको संयुक्त टोलीले अत्याधुनिक उपकरणसहित जोखिमपूर्ण अवस्थामा पनि टनेलभित्र प्रवेश गरी उद्धार प्रयासलाई तीव्र बनाएको छ।

नेपाली सेनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार उद्धार, राहत तथा पुनर्स्थापनाका क्षेत्रमा भएका मुख्य प्रगतिहरू निम्न अनुसार छन्:

१. हवाई टोलीद्वारा उद्धार जारी

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित तथा दुर्गम क्षेत्रमा फसेका नागरिकहरूको उद्धार कार्य भइरहेको छ। मंगलबार (भाद्र १६ गते) बिहान ११ बजेसम्म थप २३ जनाको सकुशल हवाई उद्धार गरिएको सेनाले जनाएको छ।

२. जलविद्युत् टनेलहरूमा उद्धारको प्रयास

सुरङभित्र फसेका कामदारहरूसम्म पुग्न नेपाली सेना र विदेशी विज्ञहरूको संयुक्त टोलीले विभिन्न जलविद्युत् आयोजनामा तीव्र गतिमा कार्य गरिरहेको छ:

  • लाङटाङ हाइड्रो: उद्धार टोली टनेलभित्र करिब १५० मिटर गहिराइसम्म पुगेर खोजी कार्य गरिरहेको छ।

  • अपर त्रिशूली-१ हाइड्रो: विज्ञ टोली टनेलको करिब २०० मिटर भित्रसम्म प्रवेश गरिसकेको छ।

  • चिलिमे हाइड्रो: संयुक्त टोलीले टनेलभित्र करिब ५० मिटरसम्म पुगेर स्थिति मूल्याङ्कन र खोजी जारी राखेको छ।

  • त्रिशूली-३ ‘ए’: टनेलको मुख्य प्रवेशद्वार (हेड) फेला पारिएको छ। सुरङभित्र अक्सिजनको प्रवाह सुचारु राख्न कम्प्रेसरमार्फत हावा पठाउने र जमेको पानी बाहिर निकाल्ने काम भइरहेको छ। ३ वटा एक्साभेटर प्रयोग गरी १५ मिटरको वैकल्पिक मार्ग खोलिनुका साथै ‘रक ब्रेकर’ प्रयोग गरेर ठूला ढुङ्गा फुटाउने कार्य भइरहेको छ।

  • त्रिशूली-३ ‘बी’: प्रवेशद्वार पत्ता लगाएपछि एक्साभेटर प्रयोग गरी टनेल खोल्ने काम भइरहेको छ।

यसअघि, बाढीलगत्तै गरिएको प्रारम्भिक उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाहरू (रसुवागढी-२, माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली ३ ‘ए’ र ‘बी’, मैलुङ, सौर्य विद्युत्, त्रिशूली जलविद्युत् र देवघाट जलविद्युत्) बाट २७९ जनाको जीवितै उद्धार गरिएको थियो।

३. ९ हजारभन्दा बढी फौज मैदानमा

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) सम्मका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

पैदल गस्तीमार्फत जङ्गल, डाँडाकाँडा र नदी तटीय क्षेत्रमा स्थानीयको अवस्था बुझ्ने, अवरुद्ध राजमार्ग तथा सहायक सडक सुचारु गर्ने, घाइतेको आपत्कालीन उपचार गर्ने र शव व्यवस्थापनमा टोली अहोरात्र खटिएको छ।

४. सङ्क्रमण रोक्न कीटाणुमुक्त (निर्मलीकरण) अभियान

बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी वा सङ्क्रमण फैलन नदिन सेनाले निर्मलीकरण कार्यलाई प्राथमिकतामा राखेको छ:

  • धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल (परासी) तथा मुलपानी सामुदायिक वन (शव व्यवस्थापन स्थल) क्षेत्रमा कीटाणुमुक्त औषधी छर्किसकिएको छ।

  • अन्य जोखिमयुक्त स्थानहरूमा स्थानीय निकायहरूसँगको समन्वयमा निर्मलीकरण कार्य अगाडि बढाइँदै छ।

प्राकृतिक विपद्को यस कठिन घडीमा टनेलभित्र अड्किएका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्नु नै अहिलेको मुख्य प्राथमिकता बनेको छ। सुरङभित्र अक्सिजन आपूर्ति र ढोका खोल्ने कार्य तीव्र पारिएकाले उद्धार टोलीहरू कामदारहरूसम्म छिट्टै पुग्ने अपेक्षा गरिएको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन र अन्तर्राष्ट्रिय विज्ञहरूको संयुक्त

प्रयासले बाँकी रहेका कामदारहरूको जीवन रक्षाका लागि सम्भाव्य सबै कदम चालिरहेको छ।