इतिहासले एउटा कठोर सत्य बारम्बार प्रमाणित गरेको छ—राष्ट्र कहिल्यै नेताको शक्तिले मात्र महान् बन्दैन; राष्ट्र महान् बन्ने आधार जनताको चेतना, चरित्र, श्रम र जिम्मेवारी हो। हामी प्रायः आफ्नो असफलताको भार नेताको काँधमा राखेर आफूलाई निर्दोष साबित गर्न खोज्छौँ। देश गरिब भयो—नेता दोषी। बेरोजगारी बढ्यो नेता दोषी। भ्रष्टाचार भयो—नेता दोषी। विकास भएन—नेता दोषी। तर एउटा प्रश्न हामीले कहिल्यै आफैँसँग सोध्दैनौँ—“मेरो देशप्रतिको कर्तव्य मैले कति पूरा गरेँ?” अधिकारको आवाज बुलन्द छ, तर कर्तव्यको आवाज किन मौन छ ? राजनीति धन कमाउने उद्योग होइन, सत्ता उपभोग गर्ने साधन होइन, न त व्यक्तिगत समृद्धिको सिँढी हो। राजनीति भनेको राष्ट्रको आत्मालाई दिशा दिने दर्शन हो। राज्य सञ्चालनको उद्देश्य नेताको वैभव होइन; नागरिकको सम्मान, न्याय, समान अवसर र सुशासन सुनिश्चित गर्नु हो। नेताको हातमा हल हुनु आवश्यक छैन; तर किसानको हातमा हल चल्ने वातावरण बनाउन सक्नुपर्छ। नेताले उद्योग खोल्नुपर्दैन; तर उद्योग फस्टाउने नीति बनाउन सक्नुपर्छ। नेताले प्रत्येक युवालाई जागिर दिन सक्दैन; तर युवाले आफ्नै क्षमता र श्रमका आधारमा अवसर प्राप्त गर्ने व्यवस्था निर्माण गर्नुपर्छ। यही नेतृत्वको धर्म हो। जब हामी नेताबाट नीति होइन, व्यक्तिगत लाभ खोज्न थाल्छौँ, त्यही दिनबाट राजनीति विचारबाट विचलित भएर व्यापारमा बदलिन थाल्छ। जब नागरिकले “मेरो काम गरिदिए पुग्छ” भन्ने मानसिकता बोकेर राजनीतिलाई प्रयोग गर्न खोज्छ, त्यहीँबाट भ्रष्टाचारको यात्रा सुरु हुन्छ। भ्रष्टाचार केवल घुस खाने हातबाट जन्मिँदैन; घुस दिन तयार हुने हातबाट पनि जन्मिन्छ। अन्याय गर्नेबाट मात्र होइन, अन्यायलाई स्वीकार गर्ने मौनताबाट पनि जन्मिन्छ। त्यसैले भ्रष्ट राष्ट्रको जिम्मेवारी केवल शासकको होइन; नागरिकको चरित्रले पनि त्यही राष्ट्रको भविष्य निर्धारण गर्छ। लोकतन्त्रको वास्तविक अर्थ “जनताद्वारा शासन” हो। तर जनताद्वारा शासन भनेको केवल पाँच वर्षमा मतदान गर्नु मात्र होइन। यसको अर्थ हो—दैनिक जीवनमा कानुनको सम्मान गर्नु, कर तिर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सत्यको पक्षमा उभिनु, श्रमलाई सम्मान गर्नु, उत्पादन बढाउनु र राष्ट्रलाई आफ्नै घर सम्झेर व्यवहार गर्नु। राष्ट्रप्रेम झण्डा बोकेर नारा लगाउनु मात्र होइन। राष्ट्रप्रेम भनेको आफ्नो काम इमानदारीपूर्वक गर्नु हो। एउटा शिक्षकले इमानदारीपूर्वक पढाउनु, किसानले खेत जोत्नु, चिकित्सकले निस्वार्थ उपचार गर्नु, कर्मचारीले घुस नखानु, व्यापारीले ठगी नगर्नु, विद्यार्थीले अनुशासनपूर्वक अध्ययन गर्नु—यी सबै राष्ट्रप्रेमका जीवित रूप हुन्। नेपालमा केही सय नेता होलान्, तर नागरिक तीन करोडभन्दा बढी छन्। यदि तीन करोड नागरिक आफ्नो जिम्मेवारीबाट भाग्छन् भने केही सय नेताले देश परिवर्तन गर्न सक्दैनन्। तर यदि तीन करोड नागरिक जिम्मेवार बन्छन् भने सामान्य नेतृत्वले पनि असाधारण राष्ट्र निर्माण गर्न सक्छ। त्यसैले प्रश्न अब नेताको मात्र होइन, हाम्रो पनि हो। हामी कस्तो नागरिक बन्न चाहन्छौँ? अधिकार मात्रै माग्ने कि कर्तव्य पनि पूरा गर्ने? आलोचना मात्रै गर्ने कि समाधानको हिस्सा पनि बन्ने ? राष्ट्र कुनै सरकारले मात्र निर्माण गर्दैन; राष्ट्र प्रत्येक नागरिकको पसिना, चरित्र, अनुशासन, त्याग र नैतिकताले निर्माण गर्छ। जहाँ नागरिकको चरित्र कमजोर हुन्छ, त्यहाँ संविधान पनि कमजोर हुन्छ। जहाँ नागरिकको चेतना बलियो हुन्छ, त्यहाँ कमजोर सरकार पनि सफल हुन सक्छ। आज नेपाललाई केवल नयाँ नेता होइन, नयाँ नागरिक चेतना चाहिएको छ। किनकि राष्ट्रको भविष्य संसद भवनभित्र मात्र तय हुँदैन; खेतमा, कारखानामा, विद्यालयमा, अदालतमा, कार्यालयमा र प्रत्येक नागरिकको विवेकभित्र तय हुन्छ। हामीले नेतालाई देवता पनि नबनाऔँ, र दानव पनि नबनाऔँ। उनीहरू व्यवस्था निर्माण गर्ने प्रतिनिधि हुन्। तर त्यो व्यवस्थालाई जीवन दिने शक्ति जनता हुन्। राज्य एउटा रथ हो भने नेता सारथी हुन्, तर रथलाई अगाडि बढाउने बल जनता हुन्। सारथी कुशल भए पनि घोडा अघि नबढे रथ गन्तव्यमा पुग्दैन।
राष्ट्रको समृद्धि कुनै चमत्कारबाट जन्मिँदैन। त्यो जन्मिन्छ—जिम्मेवार नागरिक, नैतिक नेतृत्व, उत्पादनशील श्रम, विधिको शासन र साझा राष्ट्रिय संकल्पबाट। जब नागरिकले आफ्नो कर्तव्यलाई अधिकारभन्दा माथि राख्छ, जब नेताले सत्तालाई सेवाभन्दा ठूलो ठान्दैन, र जब राष्ट्र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्छ—त्यही दिन समृद्ध राष्ट्रको नयाँ इतिहास लेखिन थाल्छ। राष्ट्रको भाग्य सिंहदरबारमा मात्र लेखिँदैन; त्यो प्रत्येक नागरिकको चरित्र, विवेक, श्रम र राष्ट्रप्रतिको निष्ठामा लेखिन्छ।
