इतिहासका पुस्तकहरू पल्टाउँदा युद्धहरू देखिन्छन्, क्रान्तिहरू देखिन्छन्, साम्राज्यहरूको उदय र पतन देखिन्छ। तर इतिहासले धेरै कम लेखेको एउटा सत्य छ कुनै पनि सभ्यता पहिलो पटक रणभूमिमा पराजित हुँदैन, त्यो पहिले आफ्ना नागरिकहरूको चेतनामा पराजित हुन्छ। बन्दुकको गोलीले देशको सिमाना भत्काउन सक्छ, तर राष्ट्रको आत्मा भत्काउने काम निराशाले गर्छ। जब एउटा समाजले आफ्नो भविष्यमा विश्वास गर्न छाड्छ, त्यही क्षणदेखि उसको पतन सुरु हुन्छ।यही कारणले हिम्मत टुट्नु केवल व्यक्तिगत मनोविज्ञानको विषय होइन। यो सामाजिक प्रश्न हो। यो राजनीतिक प्रश्न हो। यो आर्थिक प्रश्न हो। यो नैतिक प्रश्न हो। अझ गहिराइमा हेर्ने हो भने, यो एउटा सभ्यताको प्रश्न हो।
नेपाल आज एउटा अनौठो विरोधाभासको देश बनेको छ। हिमाल उभिएका छन्, नदीहरू बगिरहेका छन्, उर्वर खेतहरू अझै बाँझो हुन मान्दैनन्, प्राकृतिक सम्पदाले देशलाई धनी बनाउने पर्याप्त सम्भावना बोकेको छ। तर नागरिकको मनमा एउटा मौन प्रश्न दिनदिनै गहिरिँदै गएको छ के यो देशमा मेरो भविष्य छ?”यो प्रश्न खतरनाक छ। किनकि यो केवल रोजगारीको प्रश्न होइन। यो आशाको प्रश्न हो।जब एउटा युवा आफ्नो विश्वविद्यालयको प्रमाणपत्रभन्दा राहदानीलाई बढी मूल्यवान् ठान्न थाल्छ, त्यहाँ केवल श्रम पलायन हुँदैन; त्यहाँ राष्ट्रप्रतिको विश्वास पनि पलायन हुन्छ। जब एउटा किसानले आफ्नो उत्पादनभन्दा आयातित वस्तुलाई बलियो देख्न थाल्छ, त्यहाँ केवल बजारको समस्या हुँदैन; त्यहाँ नीति र आत्मविश्वासको संकट पनि हुन्छ। जब एउटा उद्यमीले आफ्नो सिर्जनात्मक ऊर्जाभन्दा प्रशासनिक अवरोधलाई ठूलो देख्न थाल्छ, त्यहाँ अर्थतन्त्र मात्र कमजोर हुँदैन; भविष्यप्रतिको विश्वास पनि क्षीण हुन्छ। हामीले धेरै वर्ष राजनीतिक परिवर्तनका नाराहरू सुनेका छौँ। व्यवस्थाहरू फेरिए। संविधान बन्यो। निर्वाचन भए। सरकारहरू आए–गए।
तर एउटा प्रश्न अझै अनुत्तरित छ के परिवर्तनले नागरिकको आत्मविश्वास बढायो ?
किनकि अन्ततः लोकतन्त्रको सफलता संसद्को कुर्सीले होइन, नागरिकको अनुहारले मापन हुन्छ। यदि नागरिकको अनुहारमा निराशा छ भने लोकतन्त्रको आत्मा अझै अधुरो छ।आज हाम्रो सार्वजनिक जीवनमा अर्को ठूलो समस्या देखिन्छ हामीले असफलतालाई व्यक्तिगत दोष र सफलतालाई व्यक्तिगत उपलब्धि बनाउन सिक्यौँ, तर दुवैको सामाजिक कारण खोज्न छाड्यौँ। बेरोजगार युवालाई “मेहनत गर” भन्न सजिलो छ, तर अवसरको असमानता किन छ भन्ने प्रश्न कठिन छ। किसानलाई “आधुनिक बन” भन्न सजिलो छ, तर उत्पादनको उचित मूल्य किन छैन भन्ने प्रश्न असहज छ। उद्यमीलाई “जोखिम उठाऊ” भन्न सजिलो छ, तर नीतिगत स्थिरता किन छैन भन्ने प्रश्नबाट हामी प्रायः भाग्छौँ।यसरी समाजले समस्या व्यक्तिमाथि थोपर्छ, संरचनामाथि होइन। अनि विस्तारै मानिस आफैँलाई दोष दिन थाल्छ। यही क्षण हिम्मत टुट्न सुरु हुन्छ।तर इतिहासले अर्को सत्य पनि सिकाउँछ। संसारका सबै महान् युगहरू त्यहीँबाट सुरु भएका हुन्, जहाँ मानिसहरूले आफ्ना कमजोरी स्वीकारे, तर आफ्ना सम्भावनामाथिको विश्वास भने गुमाएनन्। उनीहरूले परिस्थितिलाई अन्तिम सत्य मानेनन्। उनीहरूले कठिनाइलाई भाग्य होइन, परिवर्तनको निम्तो ठाने।हिम्मत भनेको डर नहुनु होइन। हिम्मत भनेको डरका बाबजुद पनि सही दिशामा पाइला चाल्नु हो। आँधीले समुद्रलाई शान्त राख्दैन, तर कुशल नाविकले आँधीकै बीच दिशा गुमाउँदैन। राष्ट्रहरू पनि त्यस्तै हुन्छन्। संकट आउँछन्, असफलता आउँछन्, निराशा आउँछ। तर नागरिकले आफ्नो विवेक, श्रम र आत्मविश्वास जोगाइराखे भने इतिहास फेरि मोडिन्छ।आज नेपाललाई नयाँ नारा होइन, नयाँ मनोविज्ञान चाहिएको छ। उत्पादनलाई सम्मान गर्ने संस्कार, श्रमलाई गौरव दिने अर्थनीति, सत्य बोल्न सक्ने बौद्धिक साहस, र आफ्नै देशमा भविष्य देख्न सक्ने आत्मविश्वास। विकास सडक र भवनले मात्र मापन हुँदैन; विकास त्यो दिन सुरु हुन्छ, जब नागरिकले आफ्नो देशमा बस्ने निर्णय गर्वका साथ गर्न थाल्छ।हामीले अब एउटा गम्भीर निर्णय गर्नैपर्छ के हामी निराशाको कथा दोहोर्याउने पुस्ता बन्ने, कि आत्मविश्वास पुनर्निर्माण गर्ने पुस्ता? किनकि प्रत्येक पुस्ताले आफ्ना सन्तानलाई दुईमध्ये एउटा मात्र विरासत दिन सक्छ भय वा विश्वास।राष्ट्रको भविष्य कुनै चमत्कारले बदलिँदैन। त्यो दैनिक श्रम, नैतिक साहस, इमानदार नेतृत्व र जागरूक नागरिकको निरन्तर प्रयासबाट निर्माण हुन्छ। यही कारणले हिम्मत व्यक्तिगत गुण मात्र होइन; यो राष्ट्रिय सम्पत्ति हो। यसलाई जोगाउनु भनेको भविष्य जोगाउनु हो।हामीले याद राख्नुपर्छ राष्ट्रहरू तबसम्म बाँच्छन्, जबसम्म उनीहरूका नागरिकले सपना देख्न छाडेका हुँदैनन्। सपना देख्ने आँखा बाँकी छ भने सम्भावना बाँकी छ। सम्भावना बाँकी छ भने परिवर्तन सम्भव छ। र परिवर्तन सम्भव छ भने इतिहास अझै समाप्त भएको छैन।
