नेपालको लज्जास्पद हार, मोस्का दाजुभाइको शतकीय साझेदारीमा इटलीको ऐतिहासिक जित

३० माघ २०८२, बिहीबार १८:०२

मुम्बई ।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै विकेट नगुमाई पूरा गर्‍यो। टी–२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो।

इटलीका एन्थोनी मोस्का र जस्टिन मोस्काले शतकीय साझेदारी गर्दै जित सुनिश्चित गरे। पावरप्ले (६ ओभर) भित्रै ६८ रन जोड्दै उनीहरूले इटलीको जितको आधार तयार पारेका थिए। दुवैले ११औं ओभरमा आ–आफ्नो अर्धशतक पूरा गरे। सन्दीप लामिछानेको ओभरमा जस्टिनले सिंगल लिएर अर्धशतक पूरा गर्दा एन्थोनीले छक्का प्रहार गर्दै आफ्नो ५० रन पुरा गरेका थिए।

समूह ‘सी’ मा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाल पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। लगातार दुई हारसँगै नेपालको सुपर–८ यात्रा कठिन बनेको छ।

डेब्यु टोली इटलीले भने टी–२० विश्वकपमा पहिलो जित हात पारेको छ।

नेपाल १२३ रनमै अलआउट

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटिएको थियो। इटलीका स्पिनरहरू सामु नेपाली ब्याटरहरूले संघर्ष गर्न सकेनन्।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। रोहित पौडेलले १४ बलमा २ छक्कासहित २३ रन जोडे भने आसिफ शेखले २० रन बनाए। करण केसी अविजित १८ रनमा रहे। दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे।

ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम ३ रनमै पेभिलियन फर्किए।

रोहित र आसिफले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि ४९ रनको स्कोरमा दुवै आउट भएपछि नेपाल दबाबमा परेको थियो।

दीपेन्द्र र आरिफले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे पनि ठूलो स्कोर बनाउन सकेनन्। अन्त्यतिर करण केसी र सन्दीप लामिछानेले २१ रनको सानो साझेदारी गरे।

स्पिन आक्रमण हावी

इटलीका स्पिनरहरूले नेपाललाई दबाबमा राखे। लेगस्पिनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए। अर्का स्पिनर जेजे स्मट्सले १ विकेट लिए। पेसर अली हसन र जसप्रित अलीले समान १–१ विकेट लिए।

नियमित कप्तान वायन म्याडसन घाइते भएपछि आज ह्यारी मानेन्टीले इटलीको कप्तानी गरेका थिए।