काठमाडौं ।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल १२३ रनमै अलआउट भएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेर बलिङ रोजेको इटालीले स्पिन आक्रमणमार्फत नेपाललाई १९.३ ओभरमै समेट्यो।
नेपालले इटालीसामु १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै आउट भएपछि दबाबमा परेको नेपालको सुरुआत कमजोर रह्यो। त्यसपछि रोहित पौडेलले १४ बलमा २३ रन जोड्दै इनिङ सम्हाल्ने प्रयास गरे। पावरप्लेमा नेपालले १ विकेट गुमाएर ४६ रन जोडेको थियो।
तर मध्यक्रममा लगातार विकेट गुम्दा नेपाल लयमा फर्कन सकेन। आसिफ शेख २० रनमा स्टम्प आउट भए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा बोल्ड भए।
आरिफ शेखले सर्वाधिक २७ रन बनाए पनि टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन पर्याप्त भएन। अघिल्लो खेलमा चम्किएका लोकेश बम भने यसपटक ३ रनमै आउट भए।
१५ ओभरसम्म ९७ रनमा ५ विकेट गुमाएको नेपाल अन्ततः १९.३ ओभरमा १२३ रनमै समेटियो।
अब इटालीले जितका लागि १२५ रनको लक्ष्य पछ्याउनेछ।
