झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले प्रारम्भिक रूपमा उम्मेदवार चयन गरेको पार्टी स्रोतले जनाएको छ।
झापा क्षेत्र नम्बर १ बाट निशा डाँगी उम्मेदवार बन्ने भएकी छन्। यसअघि क्षेत्र नम्बर २ मा उनको नाम चर्चामा रहे पनि अन्ततः उनलाई क्षेत्र १ मा जिम्मेवारी दिइएको हो। डाँगी अघिल्लो कार्यकालमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् भने त्यतिबेला कान्छी सांसदको रूपमा परिचित थिइन्।
झापा क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाइएको छ। यस क्षेत्रमा नेकपा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरेले टिकट पाइसकेका छन्। यसपटक यहाँ निवर्तमान सभामुख र उपसभामुखबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
झापा क्षेत्र नम्बर ३ बाट रास्वपाका जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार बन्ने भएका छन्। उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए।
क्षेत्र नम्बर ४ बाट पार्टी सचिव शम्भु सुस्केरालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
त्यसैगरी झापा क्षेत्र नम्बर ५ बाट काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहलाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको पार्टी स्रोतले दाबी गरेको छ। झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला समेत हो। यस क्षेत्रमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण सिटौला पनि प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
चुनावी चर्चामा सधैं अग्रस्थानमा रहने झापामा यसपटक रास्वपाले सुरुमै उम्मेदवार टुंग्याएपछि राजनीतिक सरगर्मी बढेको छ। विशेषगरी बालेन शाहको उम्मेदवारीले झापाको चुनावी समीकरण थप रोचक बन्ने देखिएको छ।
