अबको चुनावपछि सरकारको नेतृत्व गर्ने लक्ष्य : मन्त्री घिसिङ

३० मंसिर २०८२, सोमबार १९:१४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ वैकल्पिक शक्तिहरूले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताएका छन्।

सोमबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ अघि आएका सबै दल र समूहहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उहाँले त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

मन्त्री घिसिङले पार्टी नेतृत्वलाई सबैलाई समेट्दै अघि बढ्न आग्रह गर्दै काम गर्ने क्रममा चुनौतीहरू आउने र ती चुनौतीको सामना गर्न सकेमा मात्रै वास्तविक परिवर्तन सम्भव हुने बताए।

“जेन–जी पुस्ताको आन्दोलनपछि जुन प्रकारले सरकार परिवर्तन भएको छ, त्यसले अब निर्वाचनपछिको सरकार कस्तो हुन्छ भन्ने विषय झनै महत्वपूर्ण बनेको छ,” उहाँले भन्नुभयो, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भनिने सबै मिलेर गर्नुपर्छ, र उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ।”