एमाले अर्घाखाँचीबाट निर्वाचित सबै प्रतिनिधि ओलीपक्षका : प्रदेशसभा सदस्य, उपप्रमुख पराजित

१५ मंसिर २०८२, आईतवार ०९:५७

बुटवल । नेकपा (एमाले)को ११औँ महाधिवेशनका निम्ति प्रतिनिधि छान्न अर्घाखाँचीमा निर्वाचन गरिएको छ । अर्घाखाँचीबाट सबैजना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका प्रतिनिधि निर्वाचित भएका छन् ।

अर्घाखाँचीबाट १३ प्रतिनिधि छनोट भएका हुन् । आइतबार (मंसिर १४) बिहान मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ ।

खुलातर्फ निर्वाचित हुनेमा ओलीपक्षका एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष शम्भु पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य वसन्त श्रेष्ठ, जिल्ला सचिवालय सदस्य रेशम थापा, कमल घिमिरे र तेजप्रसाद खनाल गरी ६ जना छन् ।

खुलातर्फ पराजित हुनेमा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे, प्रदेश कमिटीका पूर्वसदस्य प्रेमनारायण गैरे र सन्धिखर्क नगर कमिटीका पूर्वअध्यक्ष श्रीकृष्ण भुसाल छन् ।

महिलातर्फ निर्वाचित हुनेमा दीपा आचार्य, सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम छन् । शितगंगा नगरपालिकाका उपप्रमुख समेत रहेकी गीता भाट क्षेत्री पराजित भइन् ।

युवातर्फ जिल्ला सचिव तोजबहादुर रायमाझी, दलिततर्फबाट लीलबहादुर विक र आशा परियार सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय छ ।