काठमाडौं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आफूहरुले उठाएको मागलाई निस्तेज पार्ने नियतले नियमित महाधिवशेनको कार्यतालिका ल्याइए अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।
विशेष महाधिवेशनको मुद्दालाई कमजोर बनाउने नियत सहित आउने नियमित महाधिवेशनको कार्यतालिकामा सहमत हुन नसकिने विशेष महाधिवेशन पक्षधरहरूले जनाएका छन् ।
‘कुनै पनि बाहना वा अबिश्वसनिय नियमित महाधिबेसनको तालिकामा विशेष महाधिबेसनको माग निष्क्रिय हुन सक्दैन। वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन-कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन,’ विशेष महाधिवेशन पक्षधरले बिहीबार निकालेको वक्तव्यमा भनिएको छ।
विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको कार्यतालिका मागेका नभई महाधिवेशनको सुनिश्चिता खोजेको वक्तव्यमा उल्लेख गरिएको छ। ‘हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौ,’ विज्ञप्तिमा भनिएको छ।
विधानको व्यवस्था अनुसार माग भएको विशेष महाधिवेशनबाट पछि नहट्ने प्रस्तावकर्ताहरुको अडान छ । विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र आव्हान गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विधान केन्द्रीय कार्यसमितिका लागि पनि समान रूपमा लागू हुन्छ कि हुँदैन ? देश, लोकतन्त्र र पार्टीको हित सर्वोपरि हो कि व्यक्तिगत आकांक्षा र स्वार्थ ?’ नेतृत्वलाई प्रश्न गरिएको छ ।
कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताले पार्टी आज गम्भीर संकटको मोडमा उभिएको उल्लेख गर्दै यसको जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने वक्तब्यमा भनिएको छ।
करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ।
‘नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन,’ वक्तव्यमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

