विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समिति संयोजक प्रकाशचन्द्र परियारद्वारा प्रस्तुत ‘वैकल्पिक राजनीतिक शक्तिबीच बृहत्तर ध्रुवीकरण/एकीकरण’ प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै एकीकरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।
प्रवक्ता आशुतोष प्रधानका अनुसार, हाल चलेको ‘जेनजी आन्दोलन/विद्रोह’ले दुवै दलबीचको एकीकरणलाई थप तीव्र बनाइदिएको छ। परियारले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्यसहित विकास, समृद्धि र सुशासनका जनअपेक्षालाई ठोस परिणाममा रुपान्तरण गर्ने प्रतिबद्धताका साथ एकीकरणको तयारी गरिएको बताए।
एकीकरणसँग सम्बन्धित बाँकी प्राविधिक प्रक्रिया दुवै पक्षका शीर्ष नेतृत्वको सहमतिमा चाँडै टुंग्याइने जनाइएको छ। एकीकृत पार्टी घोषणा कार्यक्रम आगामी आइतबार राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको प्रवक्ता प्रधानले जानकारी दिए।
