दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्रीको चेतावनी “आजै सडकमा उत्रिन्छौं”

३ मंसिर २०८२, मंगलवार १०:१०

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि नागरिक बचाउ दल तत्काल आन्दोलनमा उत्रिने तयारीमा आएको छ। मंसिर ७ गते प्रदर्शन गर्ने पूर्वनिर्घोषित कार्यक्रमलाई अघि सार्दै पार्टीले “आजैबाट देशव्यापी संघर्ष सुरु गर्ने” घोषणा गरेको हो।

पार्टीका महामन्त्री प्रेमकुमार थाम्सुहाङले  आयोखबरसँग भने,“हाम्रा नेता दुर्गा प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ। त्यसैले मंसिर ७ को पर्खाइ छैन, आजैबाट आन्दोलन सुरु गर्छौं।”

 प्रहरीले मध्यरातमा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो।

१५ चैतको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका प्रसाईं त्यसपछि अदालतको आदेशमा रिहा भएका थिए।

तर, पछिल्ला दिनमा उनी राजावादी गतिविधि, ऋण मिनाहाका लागि दबाबमूलक अभियान र उत्तेजक/हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा फेरि प्रहरी दायरामा आएका छन्।

आजै आन्दोलनको पहिलो चरण

महामन्त्री थाम्सुहाङका अनुसार पहिलो चरणमा आजै जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा ध्यानाकर्षणपत्र बुझाइने छ। त्यसपछि पार्टीले देशभर प्रदर्शन सुरु गर्नेछ।

उनका भनाइ छ “हामी दल दर्ता गरेर निर्वाचनमा जान तयारीरत थियौं। हाम्रा गतिविधि शान्तिपूर्ण थिए तर सरकारले नै शान्ति भंग गर्यो।”

तत्काल रिहाइको माग

नागरिक बचाउ दलले प्रसाईंको तत्काल, विना शर्त र ससम्मान रिहाइको माग गरेको छ।

महामन्त्री थाम्सुहाङले चेतावनी दिएका छन उनी भन्छन “यदि रिहाइ भएन भने यो सरकारको अन्त्य सडकबाटै गर्नेछौं।”