राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र फरक विचार र फरक रोडम्याप प्रस्तुत गर्दा निरन्तर मिडिया ट्रायलको निशानामा पारिएको गुनासो सार्वजनिक गरेकी छन्।
उनका अनुसार पार्टीभित्र सुधार, रिफर्म र वैचारिक स्पष्टता खोज्ने प्रयासलाई बारम्बार कमजोर बनाइएको छ।
तोसिमाले भनिन्— “घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो भने ओली नै थिए नि। बेलैमा नसुध्रिए, ‘सबै अट्ने सबै खट्ने’ भन्ने मोडेलमा रिफर्म हुन नसके पार्टीले अझ धेरै अब्बल व्यक्तिहरू गुमाउनेछ।”
उनका अनुसार पार्टी निर्णय प्रक्रियामा न त बहुमतको कदर भयो, न विधि–पद्धति अनुसार चलाइयो। संगठन निर्माणमा मेहनत गर्ने कार्यकर्ताको दबाबका कारण मात्र संस्थापन पक्ष बाध्यतावश केही निर्णयहरू गर्नुपरेको उनले बताइन्।
तोसिमाले एकल व्यक्तिको वरिपरि राजनीति घुम्दा राष्ट्रिय राजनीति पनि कमजोर हुने चेतावनी दिँदै भनिन्—
“फरक विचार राख्दैमा, फरक मार्गचित्र ल्याउँदैमा मिडिया ट्रायलको सिकार हुनुपर्छ भने साथीहरू एकपछि अर्को निस्किन्छन्— केहिले बोलेर, केहिले नबोलेरै। एक व्यक्तिले देश बन्दैन, देश बनाउन सज्जनहरूको सहकार्य चाहिन्छ।”
उनको अभिव्यक्तिले रास्वपाभित्र नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र पार्टी सुधारको दिशाबारे गम्भीर अन्तर्कलह बढ्दै गएको संकेत गरेको छ।

