एनपिएलमा पैसाको वर्षा! दोस्रो संस्करणमा ३५ करोडभन्दा बढी उठ्ने अनुमान

३० कार्तिक २०८२, शनिबार १४:२३

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ। शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सचिव एवं पूर्वराष्ट्रीय क्रिकेट कप्तान पारस खड्काले आयको प्रारम्भिक अनुमान सार्वजनिक गरेका हुन्।

उनका अनुसार १५ करोड ३० लाख रुपैयाँ प्रयोजक (स्पोन्सर) बाट, ९ करोड सहभागी टोलीहरूबाट, ओटिटी प्रसारणबाट ५ करोड ३० लाख र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको हो।

सोमबारदेखि सुरु हुन लागेको एनपिएलका लागि यस वर्ष त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट पनि जडान गरिएको छ, जसले रात्री खेल सम्भव बनाएको आयोजकको भनाइ छ।

एनपिएल २ मा क्रिकेट, मनोरञ्जन र वाणिज्यिक पक्षलाई सन्तुलित रूपमा अघि बढाइने आयोजकले जनाएको छ।