एमालेको देशव्यापी शक्ति प्रदर्शन आज, शीर्ष नेताहरू जिल्ला–जिल्लामा

३० कार्तिक २०८२, शनिबार ०९:४९

नेकपा एमालेले आज देशभरका जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा जनसभाको आयोजना गर्दैछ। प्रतिगामी षड्यन्त्रका विरुद्ध सञ्चालन भइरहेको जनपरिचालन अभियानको तेस्रो चरण अन्तर्गत देशव्यापी सभा हुन लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको जनसभामा व्यापक जनसहभागिता सुनिश्चित गर्न केन्द्रीय नेता तथा जिल्ला इन्चार्जहरू आफ्ना-आफ्ना क्षेत्रमा खटाइएका छन्।

“आजको कार्यक्रमबाट एमाले अझै पनि देशभर लोकप्रिय एवं सुदृढ शक्ति हो भन्ने सन्देश जनतासामु स्थापित हुन्छ,” गौतमले बताए।

उनका अनुसार जनपरिचालन कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ,

  • पहिलो चरण : कात्तिक २२ मा देशभर वडा–भेला
  • दोस्रो चरण : कात्तिक २५ मा स्थानीय तहहरूमा जनप्रदर्शन तथा र्‍याली
  • तेस्रो चरण : आज देशव्यापी जिल्ला–स्तरका जनसभा
  • अन्तिम चरण : मङ्सिर ६ मा काठमाडौंमा विशाल जनसभा, अभियान समापन

आजका प्रमुख सभाहरूमा पार्टीका शीर्ष नेताहरूले देशका विभिन्न स्थानबाट सम्बोधन गर्ने कार्यक्रम छ।

  • महासचिव शंकर पोखरेल – नेपालगन्ज
  • उपमहासचिव प्रदीप ज्ञवाली – गुल्मी
  • उपमहासचिव पृथ्वी सुब्बा गुरुङ – लमजुङ
  • सचिव छविलाल विश्वकर्मा – रुपन्देही
  • सचिव पद्मा अर्याल – झापा, बिर्तामोड
  • कोशीका मुख्यमन्त्री हिकमत कार्की – धनकुटा

एमालेले आजका सभाबाट संगठन तथा जनसमर्थनलाई अझ सुदृढ बनाउँदै आगामी राजनीतिक गतिविधिलाई बलियो बनाउने लक्ष्य राखेको बताएको छ।