टिकापुर, कैलाली — टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनले नगरवासीको ध्यान तानेको छ। यसै सन्दर्भमा, हिरा सिंह बिष्टले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सामाजिक दायित्व, सार्वजनिक सेवा र नागरिक हकहितमा लामो समयदेखि क्रियाशील रहनुभएका बिष्टको उम्मेदवारीलाई स्थानीय तहमा विशेष चासोको विषय बनाइएको छ।
हिरा सिंह बिष्ट नेपाल सरकारको सेवामा लामो समय समर्पित भई राष्ट्रसेवामा योगदान पु-याउनु भएका एक कुशल, अनुशासित र दुरदर्शी व्यक्तित्वका रुपमा चिनिन्छन्। सेवा निवृत्तिपछि उहाँले आफूलाई सामाजिक सेवामा समर्पण गर्दै समाज, शिक्षा र मानव अधिकारको क्षेत्रमा सक्रियताका साथ कार्य गर्न थाल्नुभयो।
बिष्ट हाल नेपाली कांग्रेस प्रदेश ‘ख’ का निर्वाचित उपसभापति हुनुहुन्छ। उहाँले कालिकास्थान सेवा समाजका संस्थापक अध्यक्षका रुपमा सामाजिक चेतनाका कार्यक्रम सञ्चालन गर्नुभएको छ भने, नेपाल रेडक्रस सोसाइटीको टिकापुर शाखामा आजीवन सदस्यको रूपमा विभिन्न मानवीय सेवामा संलग्न हुनुभएको छ।
यस्तै, उहाँ सामुदायिक प्रहरी सेवा, सामुदायिक पुस्तकालय टिकापुर, CLC नेपाल, भूपू प्रहरी संगठन, र पूर्व राष्ट्रसेवक कर्मचारी संगठनमा पनि नेतृत्वदायी भूमिकामा रहेर योगदान पुर्याउँदै आउनुभएको छ। साथै, उहाँ जेभी फाउन्डेसन नेपाल नगर समिति अध्यक्ष र नेपाल सांस्कृतिक परिषद् प्रदेश उपाध्यक्षका रूपमा पनि संलग्न हुनुहुन्छ।
“संस्थामा व्याप्त अनियमितता अन्त्य गर्नु मेरो प्रमुख प्राथमिकता हो,” उम्मेदवार बिष्टले स्पष्ट पार्नुभयो। उहाँले खानेपानी सेवाको गुणस्तरमा आमूल सुधार, शुल्क संरचनालाई न्यायोचित बनाउने र नगरवासीको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्धता जनाउनुभयो।
उहाँको भनाइमा, “प्रशासनिक पारदर्शिता, जनसहभागिता र समावेशी सेवाप्रवाह बिना कुनै पनि सार्वजनिक संस्था प्रभावकारी बन्न सक्दैन। खानेपानी सेवा जस्तो संवेदनशील विषयमा जनताको विश्वास र सहभागिता अत्यावश्यक छ।”
बिष्टको उम्मेदवारी केवल पदप्राप्तिको आकांक्षा नभई जनसेवाको निरन्तरताको प्रतीक हो। उहाँले सार्वजनिक संस्थाको संरचना र कार्यप्रणालीमा दीर्घकालीन सुधार ल्याउने संकल्प व्यक्त गर्नुभएको छ। “मेरो सार्वजनिक सेवा अनुभव, समर्पण र नीतिगत समझदारीलाई संस्थाको हितमा प्रयोग गर्न चाहन्छु,” बिष्टले भन्नुभयो।
टिकापुर नगरको सामाजिक, आर्थिक र भौतिक विकासमा खानेपानी सेवा प्रणालीको भूमिका निर्णायक रहेको छ। यस्तो अवस्थामा अनुभवी, ईमानदार र दूरदर्शी नेतृत्व आवश्यक भएको स्थानीयबासी बताउँछन्।
हिरा सिंह बिष्टको उम्मेदवारी केवल एक पदका लागि प्रतिस्पर्धा होइन, यो सार्वजनिक सेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित संस्थागत सुधारको अभियान हो। उहाँले देखाएको प्रतिबद्धता र दृष्टिकोणले टिकापुरको खानेपानी व्यवस्थापन प्रणालीमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।
