
असार २३, काठमाडौं —
आगामी साउन २३ गते देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’ को पहिलो झलक आज सार्वजनिक गरिएको छ। राष्ट्रिय धान दिवस र दही चिउरा खाने विशेष अवसरमा जारी गरिएको झलक करिब १ मिनेट ४९ सेकेन्डको छ, जसमा ग्रामीण समाजको जीवनशैली, प्रेम, पीडा र संघर्षलाई प्रभावशाली तरिकाले प्रस्तुत गरिएको देखिन्छ।
झलकमा ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने भावनात्मक संवादले सुरु हुँदै सौगात मल्ल र बेनिशा हमालबीचको बाल्यकालदेखि विवाहपछिको सम्बन्ध, प्रेम र उतारचढावलाई देखाइएको छ। निर्देशक राज बहादुर सानेले यस चलचित्रमा गाउँघरको साँस्कृतिक परिवेशलाई सुन्दर रूपमा चित्रण गरेका छन्।
चलचित्रमा सौगात मल्ल र बेनिशा हमालका साथै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतका कलाकारहरूले अभिनय गरेका छन्। यो श्री कृष्ण र जानुकाको डेब्यु चलचित्र पनि हो।
‘सिटामोल’ तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा बनेको हो। चलचित्रको कथा प्रदीप भट्टarai र निर्देशक सानेले लेखेका हुन्। निर्माता भूगोल कुमार कार्की र विकास राज जोशी रहेको यस चलचित्रमा संगीत बाबुल गिरीले दिएका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ। बन्दे प्रसादले सम्पादन गरेका छन् र दिव्य सुवेदी सिनेमाटोग्राफर हुन्।
चलचित्रले नेपाली ग्रामीण जीवनको सरल तर गहिरो कथा मार्फत दर्शकको मन छोइरहने अपेक्षा गरिएको छ। साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले नयाँ अनुभूति दिने विश्वास दर्शकहरूमा जागेको छ।