“लोकतन्त्रको आवाज मञ्चमा: जनसंघर्ष, राष्ट्रिय भावना र जनचेतनाले भरिएको भव्य सांस्कृतिक कार्यक्रम”

१३ जेष्ठ २०८२, सोमबार १३:०२

काठमाडौं, जेठ १५ – नेपालको १७औं गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनको आयोजनामा तथा Apple Media and Advertising Pvt. Ltd. को सह-आयोजनामा आज काठमाडौंमा एक भव्य जनसांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्।

गणतन्त्र दिवसको ऐतिहासिक महत्वलाई जनस्तरमा सशक्त रूपमा अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले देशभक्तिपूर्ण सांगीतिक प्रस्तुति, परम्परागत लोकसंगीत, आधुनिक तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतहरूको माध्यमबाट राष्ट्रिय एकता र गौरवलाई उजागर गर्नेछ। कार्यक्रममा ‘जनताको सपना’ शीर्षकको नाट्य प्रस्तुति मार्फत गणतन्त्र, लोकतन्त्र, समाजवाद, समावेशिता र समृद्धिको आदर्श बोकेका जनताको जीवन, संघर्ष, आशा र अपेक्षाको कथा प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई भावनात्मक रूपमा गणतन्त्रसँग जोड्ने विश्वास गरिएको छ।

साथै, सांस्कृतिक, सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। कार्यक्रमको अर्को आकर्षणका रूपमा प्रदेशगत सांस्कृतिक विविधता झल्काउने लोकनृत्य, संगीत, कला र पहिचान झल्किने प्रस्तुतीहरू प्रस्तुत गरिनेछन्। साथै, नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक झल्को दिने दृश्यात्मक प्रस्तुति पनि समावेश गरिनेछ, जसले विशेषगरी युवा पुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

कार्यक्रममा नेपाली संगीत र कलाको क्षेत्रमा विशेष पहिचान बनाएका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। जनवादी स्वरका सशक्त प्रतिनिधि जिवन शर्माले सामाजिक चेतनाका गीत प्रस्तुत गर्नेछन्। लोकसंस्कृति र चेतनाका संवाहक शम्भु राईले गाउँले जीवनशैली झल्काउने गीत गाउनेछन्। लोक संस्कृतिका सजीव प्रतिनिधि विष्णु खत्रीले सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रस्तुति दिनेछन्। सहज र लोकप्रिय लोकगायन शैलीका धनी टिका पुनले आफ्ना समृद्ध दोहोरी गीतमार्फत दर्शकलाई रमाइलो गराउनेछन्।

कार्यक्रममा हास्य कलाकार सैलेन्द्र सिँखडाले पनि आफ्ना जीवन्त हास्य प्रस्तुतिमार्फत दर्शकहरूलाई हँसाउने र कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछन्।

यस कार्यक्रमले गणतन्त्रको मूल्य र महत्वलाई जनस्तरसम्म पुर्‍याउने, लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने र साझा राष्ट्रिय भावना सुदृढ बनाउने लक्ष्य लिएको आयोजकले जनाएका छन्।