“पूर्वाधार विकासदेखि राजनीतिक आत्मनिर्भरता सम्म: पाँचथरमा प्रचण्डको रणनीतिक अभिव्यक्ति”

२७ बैशाख २०८२, शनिबार १८:०२

फिदिम, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित एक विशाल जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समग्र पूर्वाधार विकास, राजनीतिक परिदृश्य र पार्टीको भावी रणनीतिबारे महत्वपूर्ण अभिव्यक्ति दिनुभयो।

अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण करिडोर जस्ता भौतिक पूर्वाधार विकास परियोजनाहरू माओवादी नेतृत्वको सरकारका पालामा प्रारम्भ गरिएको उल्लेख गर्दै, यी अभियानहरू देशका भिन्न भौगोलिक क्षेत्रहरूलाई एक आपसमा जोड्ने दृष्टिकोणले सुरुआत गरिएको स्पष्ट पार्नुभयो। “मध्यपहाडी लोकमार्गको प्रस्तावना हाम्रो नेतृत्वमा गरिएको हो, र यसको पूर्वी सुरुआत पाँचथरमै रहेको छ,” उहाँले भन्नुभयो।

हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनसमुदायको सक्रिय संलग्नताबाट जनअभियानको रूप लिएको निष्कर्ष पार्टीले निकालेको जानकारी दिँदै, पाँचथरमा सम्पन्न कार्यक्रम उक्त अभियानकै पूर्वसञ्चारको रूपमा रहेको उल्लेख गर्नुभयो।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पछिल्लो कार्यकालमा सामाजिक न्याय, सुशासन, तथा आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दा त्यसविरुद्ध दलाल र बिचौलियाहरूको गठजोडले सरकारलाई अपारदर्शी ढंगले अपदस्थ गरिएको आरोप लगाउनुभयो। उहाँले बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणालीमा सुधार ल्याउने, र जनपक्षीय नीतिहरू लागू गर्दा सत्ताविरोधी शक्तिहरू असहज भएको दाबी गर्नुभयो।

उहाँले संविधानविपरीत सरकार ढालिएको उल्लेख गर्दै अब कांग्रेस र एमालेसँग मिलेर अघि नबढ्ने स्पष्ट संकेत गर्नुभयो। “पटक–पटक गठबन्धन गरेर हामी उनीहरूजस्तै देखियौं, अब हामी आफ्नै आत्मबलमा अघि बढ्नेछौं,” उहाँले भन्नुभयो।

स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, पत्रकार महासंघ लगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको उल्लेखनीय सफलताको आधारमा आगामी निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने रणनीति रहेको जानकारी दिँदै, अध्यक्ष प्रचण्डले जनपक्षीय कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

आफ्नो क्षेत्रीय र राष्ट्रिय योगदानलाई पुनः स्थापित गर्ने उद्देश्यसहित पार्टी संगठनात्मक सुदृढीकरण र जनसंपर्क विस्तारमा अघि बढ्ने संकेत उहाँले दिनुभयो।