पर्यटन विकास र धार्मिकस्थलहरूको संरक्षणमा नेपाल सरकार प्रतिबद्ध

११ बैशाख २०८२, बिहीबार १४:१२

मुस्ताङ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतबाट प्रधामन्त्री, मन्त्री एवं उच्च पदस्थ व्यक्तित्वहरुको भ्रमणले दुई देशबीचको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्बन्ध थप प्रगाढ हुने बताउनु भएको छ ।
मन्त्री खड्काको निमन्त्रणामा नेपालको औपचारीक भ्रमणमा आउनु भएका भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरसँगै मुक्तिनाथ मन्दिरको लागि दर्शनमा सहभागी हुनुभयो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि मन्त्री खड्काले यस यात्राले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले भन्नुभयो–“धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ। यस्ता अवसरहरूले दुई देशबीचको मित्रता र सहयोगको भावना गाढा बनाउँछ ।”
मुक्तिनाथ दर्शनको क्रममा भारतीय विद्युतमन्त्री खट्टरले नेपाल धार्मिक रुपमा ऐतिहासिक र पवित्रभूमि भएको भन्दै मुक्तिनाथ एवं पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्दित महसुश भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनमा नेपालले जोड दिए नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलको रूपमा मुक्तिनाथ मन्दिरले भारत तथा अन्य देशका पर्यटकहरूलाई समेत आकर्षण गर्ने गरेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणहरूले धार्मिक पर्यटनको प्रवद्र्धन मात्र नभई नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
साथै, मन्त्री खड्काले स्थानीय पर्यटन विकास, पूर्वाधार विस्तार र धार्मिकस्थलहरूको संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।