मिलन घर्ती मगरको विस्फोटक जित!

५ चैत्र २०८१, बुधबार १७:५०

पाल्पा, चैत ६, २०८१ (बुधबार)

नेपालको विद्यार्थी राजनीतिमा नयाँ युगको सुरुवात भएको छ! त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा मा तीन दशक पुरानो सत्ता उल्टिँदै ऐतिहासिक जित दर्ता भएको छ।

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा ३० वर्षदेखि कायम रहेको वर्चस्वलाई तोड्दै विद्यार्थी राजनीतिमा नयाँ शक्ति उदाएको छ। वर्षौंको एकछत्र नेतृत्वलाई चुनौति दिँदै अखिल (क्रान्तिकारी) ले यो क्याम्पसमा ऐतिहासिक जित हात पारेको छ।

यस क्याम्पसको विद्यार्थी नेतृत्वमा लामो समयदेखि एकलौटी प्रभाव थियो। तर, यो पटकको निर्वाचनमा नयाँ समीकरण बन्यो। प्रमुख प्रतिस्पर्धामा अखिल (क्रान्तिकारी) का उम्मेदवार मिलन घर्ती मगरले १२२८ मतमध्ये ३९० मत प्राप्त गर्दै अध्यक्ष पद जितेका छन्। उनीसँग कडा टक्कर दिइरहेका उनका प्रतिद्वन्द्वी कृष्ण अर्यालले ३४२ मत मात्र प्राप्त गर्न सके। निर्वाचन अधिकृत जीवनबहादुर थापाले यो नतिजालाई क्याम्पसको विद्यार्थी राजनीतिमा ऐतिहासिक मोड भनेर बताएका छन्।

सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्यालले ५१७ मत प्राप्त गर्दै जीत दर्ता गरे। उनका निकटतम प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का विपिन पंगेनीले ३३२ मत मात्र ल्याए।

कोषाध्यक्ष पदमा पनि चर्को प्रतिस्पर्धा देखियो। यसमा नेपाल विद्यार्थी संघकै मिस्मा रानाले ४१६ मत प्राप्त गर्दै जित हासिल गरिन् भने अखिल (क्रान्तिकारी) की प्रत्याशी गंगादेवी बाह्रघरे ३४५ मतमा सीमित रहिन्।

सदस्य पदहरूमा पनि कडा टक्कर रह्यो। विभिन्न पदमा विजयी हुनेहरूमा आशिका विश्वकर्मा, ज्योति दर्लामी, तोरण रास्कोटी, नवीन थापा, बबिता थापा, सुजल भटराई र इच्छा थापा परेका छन्। निर्वाचन अधिकृतका अनुसार यो निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय उत्साह देखिएको थियो।

त्रिभुवन विश्वविद्यालय स्थापना हुनु अघि नै खुलेको यो क्याम्पस पश्चिम नेपालकै पुरानो क्याम्पसहरू मध्ये एक हो। तीन दशकसम्म एउटै समूहको प्रभाव रहेको यस क्याम्पसमा पहिलो पटक नयाँ नेतृत्व स्थापित भएको छ, जसले विद्यार्थी राजनीतिमा ठुलो तरंग ल्याएको छ।

अबका दिनहरूमा यो परिवर्तन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न बाँकी नै छ। तर, यो जितले निश्चित रूपमा विद्यार्थी राजनीति मात्र नभई क्याम्पसको समग्र वातावरणमा ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ।