स्ववियु चुनाव: कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको वर्चस्व

५ चैत्र २०८१, बुधबार १६:०९

सुर्खेत – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले उल्लेखनीय सफलता हासिल गरेको छ। २६ क्याम्पसमा सम्पन्न चुनावमध्ये १२ क्याम्पसमा विजय हासिल गर्दै उक्त संगठनले वर्चस्व कायम राखेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीका ३३ क्याम्पसमध्ये ७ मा विभिन्न कारणले निर्वाचन स्थगित भएको थियो। मंगलबार सम्पन्न मतदानमा माओवादी निकट अखिल (क्रान्तिकारी)ले १२, नेकपा एमाले निकट अनेरास्ववियूले ८ तथा नेपाली कांग्रेस निकट नेविसंघले ६ क्याम्पसमा जित दर्ता गरेका छन्।

अखिल (क्रान्तिकारी)ले विशेषगरी रुकुम पश्चिमका ५ क्याम्पसमा एकतर्फी जित निकाल्न सफल भएको छ। यस्तै, विगतमा एमाले निकट अनेरास्ववियूको पकड रहेको सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनकै विवादका कारण चुनाव स्थगित भएको छ।

अखिल (क्रान्तिकारी)को दाबी: जनआधारको प्रभाव
संगठनका केन्द्रीय उपाध्यक्ष अटल आचार्यले कर्णालीमा आफ्नो संगठनको बलियो उपस्थिति रहेको बताएका छन्। उनले कर्णालीलाई “क्रान्तिकारी विचारधाराको आधार इलाका” भन्दै कतिपय स्थानमा सर्वसम्मत रूपमा उम्मेदवार निर्वाचित भएको दाबी गरे।

एमाले निकट अनेरास्ववियू दोस्रो स्थानमा
एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सह-इन्चार्ज रेखा थापाले आफ्नो संगठन दोस्रो स्थानमा देखिए पनि वास्तविक रूपमा पहिलो स्थानमै रहेको दाबी गरिन्। उनका अनुसार एमाले समर्थित संगठनले जित्दै आएको क्याम्पसमा विभिन्न कारणले निर्वाचन हुन नसक्दा संख्यात्मक रूपमा दोस्रो देखिएको हो।

नेविसंघको तेस्रो स्थान
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) भने तेस्रो स्थानमा सीमित रह्यो। कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीका अनुसार नेविसंघ बलियो रहेको क्याम्पसमा निर्वाचन नै हुन नसक्दा परिणाम कमजोर देखिएको हो।

कर्णालीको प्रमुख क्याम्पस सुर्खेत बहुमुखी लगायतका विभिन्न संस्थानमा निर्वाचन प्रभावित हुँदा विद्यार्थी राजनीतिमा अन्योलता बढेको छ। यदि सबै क्याम्पसमा निर्वाचन भएको भए नतिजा अझ फरक हुन सक्ने दाबी विद्यार्थी नेताहरूको छ।