पाटन क्याम्पसमा झडप: अनेरास्ववियुका नेता घाइते

४ चैत्र २०८१, मंगलवार १८:०१

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका चार जना नेताहरू घाइते भएका छन्। स्ववियु निर्वाचनको विषयलाई लिएर उत्पन्न विवादपछि नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताहरूबीच तनाब सिर्जना भएको थियो, जसले झडपको रुप लियो।

झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् भने राजीव अधिकारी, समिक राई लगायतका अन्य नेताहरूलाई पनि चोट लागेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार फर्जी मतदाता खप्ट्याएर मतदान गर्न खोजेको विरोध गर्दा नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन्। उनले यस्ता अनियमित गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको माग गर्दै यदि यस्तो प्रवृत्ति नरोकिने हो भने अनेरास्ववियुले कठोर प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

निर्वाचनको क्रममा १०० जनाले मतदान गरिसकेपछि विवाद उत्पन्न भएपछि प्रक्रिया स्थगित गरिएको थियो। त्यसपछि समाधान खोज्न सर्वपक्षीय छलफल गरिएको भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन। हाल पाटन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया रोकिएको छ।