पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले स्थगित गरे आन्दोलन, ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

२० फाल्गुन २०८१, मंगलवार १६:४४

काठमाडौं । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् ।खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२\७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ , तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।

यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी. ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।विभिन्न माग राख्दै ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।