विराटनगर । अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दैनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको बताएका छन् ।
उनले गत केन्द्रीय समिति बैठकले पार्टीलाई दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताए ।यस्तै प्रचण्डले पार्टीकै निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको बताए ।
अभियानको क्रममा आर्थिक समृद्धिका संभावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए ।
हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत उनीहरुका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको उनले बताए ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सन्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डलेदेशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए ।
यो अभियान स्वरुप र सन्देश दुबै हिसाबले मौलिक हुने उल्लेख गर्दै उनले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने जिकिर गरे ।
