वामदेव गौतमको पूर्वराजालाई पुनः राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने चेतावनी 

११ फाल्गुन २०८१, आईतवार १६:०९

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको टिप्पणी गरे ,पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन उनले सुझाव दिए । उनले नेताहरूले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीको विरोध गरे ।

शाहलाई ८४ को चुनावबाट निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाउन गौतमले चुनौती दिए , तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनको चेतावनी थियो ।

ज्ञानेन्द्रलाई सबैले राजा स्वीकारे पनि जनतालाई रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाएको उनको भनाइ थियो ।

गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।