ओली सरकारले साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दै:माधव नेपाल

९ फाल्गुन २०८१, शुक्रबार १३:३२

काठमाडौं । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवाद विरुद्ध विद्रोह गरेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स -साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएका छन् । संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।

उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे ।