काठमाडौं । बुधबार आज बाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए ।
‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’
उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरे । पार्टीमात्रै नभइ देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।
‘हाम्रोमा आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ,’ देउवाले भने ।
२५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ ।देउवाले महाधिवेशन सफलताको कामना पनि गरे ।
