प्रजातन्त्रको उज्यालोमा हुर्किएको ,आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता अनुभव होइन, ‘कथा मात्र हो’:प्रधानमन्त्री ओली

७ फाल्गुन २०८१, बुधबार १३:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्रीले भने, ’लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन शुरू गरेको छ, ‘सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।’युवाहरूलाई सशक्त बनाएर नै देशलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारेकाछन् ।

प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताएकाछन्।

उनले , लोकतन्त्रको खुला मैदानमा नै नागरिकको जीवनमा प्रगति भएको जनाउँदै  बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै भने, ‘हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।’

उनले , देशको सुशासन, विकास, समृद्धि र नागरिकको सुखको सुनिश्चितताका लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान समेत गरेकाछन् ।

‘राष्ट्रको समृद्धि र जनताको सुख’ लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’ को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’ मा समान पहुँचको पैरवी गरेको उल्लेख गरेका छन् । उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमानदारीपूर्वक हिँडिरहेको बताएकाछन् ।

फागुन ७ ले देशलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रूपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताएकाछन् ।

‘प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता अनुभव होइन, कथा मात्र हो’,उनले भने, ‘पुस्तान्तरको समय चापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– प्रजातन्त्रले के गरेको छ र, त्यसले त अझै राणाकालका दरबारहरूबाट निर्वाह गरिरहेको छ ।’

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले नागरिकका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताएकाछन् । ‘निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ’, उनले भने, ‘यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।’

फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ ।