काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ रैतीबाट जनताको दर्जामा पुर्याएको दिनका रूपमा स्मरण गरेका छन् ।
७५ औँ प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको पनि बताएका छन् ।
‘फागुन ७ गते । आजको दिन ‘हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो’, प्रधानमन्त्री ओलीले गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालमा प्रजातन्त्र ल्याउन लागि जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान प्रकट गरेका छन् ।
देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन् ।
