ओडिसा घटनाले सदन तातेको, सांसदहरुले झक्झक्याए सरकार

६ फाल्गुन २०८१, मंगलवार १४:४४

काठमाडौं ।आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले  भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे पछि सदन तातेको छ।

बैठकमा बोल्दै एमाले सांसद ठाकुर गैरेले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे। उनले विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाए।

यस्तै, माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो। तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्।’

उनले घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नको लागि सरकारसँग माग गरे।

यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गरे।

उनले भने, ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए। तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए। हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्।’

सदनमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।