प्रारम्भिक अनुसन्धानका क्रममा प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि

६ फाल्गुन २०८१, मंगलवार ११:४४

काठमाडौं । भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको परिवार मात्रै हैन, सिंगो भैरहवा शोकमा डुबेको छ ।

ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्ष अध्ययनरत प्रकृति आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन् ।

टना हुनु २० मिनेट अघि काठमाडौंमा रहेकी आमा सरितासँग प्रकृतिले आफू एउटा कन्सर्टमा गएको र फेसबुकमा फोटो पोष्ट गरेको भन्दै खुशी साटासाट गरेकी थिइन् । कुराकानीको २० मिनेटपछि प्रकृतिको मृत्युको खबरपछि परिवारमा सन्नाटा छायो ।आमा सरिता बेहोस भइन् भने बुबा सुनिल घटनास्थलतर्फ लागे ।

सरितालाई सोमबार काठमाडौंबाट भैरहवा घर ल्याइएको छ । ‘घटना हुनुअघि आमासँग राम्रै कुराकानी भएको रहेछ, २० मिनेट पछि एक्कासी मृत्यु खबर आएपछि परिवारमा सन्नाटा छाएको छ’, प्रकृतिकी फुपु सीता ढकालले भनिन्, ‘प्रकृतिकी आमा सरिता आज मंगलबार सम्म पनि सामान्य अवस्थामा फर्किन सक्नुभएको छैन,कसैसँग बोल्न र कुराकानी गर्ने अवस्था छैन ।’

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोज (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नै भारतीय प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको भुवनेश्वर(कट्टक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले बताए । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने उनको भनाइ छ ।

कलेजमा नेपाली र भारतीय विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए । अहिले स्थिति शान्तिपूर्ण रहेको उनको दाबी छ ।

यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फर्स्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका एक आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले उक्त केसलाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तरगत दर्ता गरेको हो ।

एउटा फोन सम्वादको अडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा ती युवकले प्रकृतीलाई अपशब्दसहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।

केआइआइटी कलेजमा बी टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शनिवार साँझ फेला परेकी थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेको थियो । नेपाली विद्यार्थीहरू होस्टलबाट जबरजस्ती लखेटिएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाँच सय विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको छ । उनीहरूलाई स्कुलको दुईवटा बसमा कोचेर कट्टक रेल्वे स्टेसनमा उतारिएको थियो । विद्यार्थीहरू बिचल्लीमा परेको खबर सार्वजनिक भएसँगै दिल्लीस्थित नेपाली दूतावासले चासो दियो । दूतावासको समन्वयपछि कलेजले विद्यार्थीहरूलाई होस्टल फर्काउन तयार भएको छ । तर, त्यतिबेलासम्म धेरै विद्यार्थीहरू गाडी र ट्रेन चढिसकेका थिए ।