तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने:प्रधानमन्त्री

५ फाल्गुन २०८१, सोमबार १५:०८

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने भएकाले आफ्नो देश आफै बनाउनुपर्ने बताएका हुन् ।तीनै तहको सरकार मिलेर आपसी सहकार्यमा नेपाललाई नेपाली आफैले बनाउनुपर्नेमा उनको जोड थियो ।

‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैले देशको विकास गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ ।

त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’