खोटाङ । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ ७ बजेबाट ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।
पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो ।
काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो ।
आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुई तले घरमा पूर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि पानी बोक्ने, ट्याङकरसहित जेसीबी लगायतका मेसिनहरू पनि प्रयोग गरिएको थियो ।
आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख राईले आगलागी पीडितलाई सहयोग हुने प्रतिबद्धता जनाए ।
