भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो

४ फाल्गुन २०८१, आईतवार ११:३६

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

घटना हुँदा गएराति ९:१० बजेतिर रेलवे स्टेशनमा ठेलमठेल भीड थियो र भीडका कारण यात्रुबीच एकआपसमा धकेलाधकेल हुँदा कतिपय लडेका थिए ।

भागदौडमा परेकामध्ये तीन जना बालबालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेकाछन्। उनले मृतकका परिवारमा समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गरेकाछन् । साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

रेलमन्त्री अश्विनी वैष्णवले घटना लगत्तै सुरक्षाकर्मीको सहयोगमा रेलवे स्टेशनको अवस्थालाई नियन्त्रणमा लिएको समेत बताएकाछन् ।