विपिनको रिहाइबारे कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

२५ माघ २०८१, शुक्रबार ११:५३

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् ।

फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।

जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ ।मन्त्री डा राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।